काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई महासंग्राम जितेर आएको बताएका छन् । बिहीबार पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जालझेल, दमनकारी नीति, बुथकब्जा र अनेक हत्काण्डका बीच एमालेका उम्मेदवारले जितेको बताएका हुन् ।
उनले निर्वाचनमा सत्तापक्षबाट नांगो हस्तक्षेप भएको जिकिर गरे। स्थानीय तह निर्वाचनमा भ्रष्टता, अनैतिकतता र अलोकतान्त्रिक हावी भएको आरोप लगाए। यो किसिमको दमनकारी नीति आफूले कहिल्यै नदेखेको बताए ।
उनले भने,‘२०१५ सालमा पनि यस्तो शक्तिको दुरुपयोग भएको थिएन। मैले ६४ वर्षदेखि निर्वाचन हेरिरहेको छु । यो किसिमको मत एमाले भएकै कारण मात्र आएको हो। एमालेलाई बधाइ छ।’
ओलीले कुनै पनि हालतमा एमालेको हातमा मत जान नदिन अनेक वितण्डा अपनाएको बताए । उनले एमालेले चुनावसँग मात्र नभई अधिनायकवादविरुद्ध लडेको दावी गरे।
उनले विरोधीले एमाले मात्र हराउन नसक्ने तर आफ्नै कारण हार व्यहोर्नु परेको गुनासो गरे । उनले भने,’लोकतान्त्रिक अभ्यासका क्रममा देखिएको चरम तानाशाही भ्रष्ट र नैतिकताको सीमा पार गरेको छ । विश्वमा कहीँ नसुनिएको बाहिरका अधिकारी राखेर बनाइन्छ।’ ओलीले पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षभित्र देखिने गरी पालिकाको विकास गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले विकासका कामहरुमा उद्देश्य र योजनासहित प्रस्तुत हुन आग्रह गरे उनले जनप्रतिनिधिलाई विकासको अभियन्ता बन्न आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनको समीक्षासमेत गरेका छन्। ओलीले एमालेले एक सय मत बढी मत आएको भए १९ सिट जित्ने बताएका छन्। यस्तै २०० मत बढी ल्याएको भए १८ सिट ल्याउने, ३०० मत बढी ल्याएको भए १५ सिट ल्याउने र २५० मत बढी ल्याएको भए ८८ सिट बढी जितिने बताए ।

प्रतिक्रिया