काठमाडौं । नेकपा (एमालेका सांसद झपटबहादुर रावलले संसद भित्रै सरकारका मन्त्रीहरुको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । प्रतिपक्षका सांसदहरुले आफ्नो लेटरप्याडमा लिएर गएको माग पत्र केही मन्त्रीहरुले विपक्षको हो भनेर च्यातेको खवर आफूले पाएको उल्लेख गर्दै सांसद रावलले त्यस्ता मन्त्रीहरुको आफूले संसदमै भण्डाफोर गर्ने चेतावनी दिएका हुन् ।
उनले प्रतिपक्षी दलका सांसदको लेटरप्याडनै च्यात्ने त्यस्ता मन्त्रीहरुको हात–मुख च्यात्न नपरोस भनि चेतावनी दिए । सोमबार प्रतिनिधिसभा बैठकमा किसानलाई रासायनिक मल र त्यसको भण्डारणको व्यवस्था गर्न पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै सांसद रावलले किसान मलको अभावमा छटपटाइरहेका बेला विदेश भ्रमणमा भएको भन्दै कृषिमन्त्री महेन्द्रराय यादवप्रति खेद समेत व्यक्त गरे ।
उनले भने, ‘यतिबेला जनता सरकार खोजिरहेका छन् । यो सरकार बनेको करिव एक वर्षभन्दा बढी हुन लागिसक्यो । सरकार कुम्भकर्णको निन्द्रामा छ । हामीले यही संसद भित्र पनि सम्बन्धित विभागीय मन्त्री धेरै दिन खोज्यौं । मन्त्रालयमा पनि गइयो । मन्त्रीजी किसानहरुको जल्दोबल्दो समस्यामा बेखवर हुनुहुन्छ । उहाँ विदेश सयरमा हुनुहुन्छ भन्ने कुरा मन्त्रालयबाटै सुन्यौं । मैले भर्खर मात्रै सुने–यो गठबन्धनका केहीकेही माननीय मन्त्री यस्ता छन्, जो प्रतिपक्षका सांसदहरुले जनताको माग लिएर आफ्नो लेटरप्याडमा मन्त्रालयका पेश गरेका मागहरु यो प्रतिपक्षको हो भनेर, गैरजिम्मेवार भएर च्यात्ने काम गरिरहेका छन् । त्यस्ता मन्त्रीहरुको म विस्तृत विवरण लिएर यही सदनमा झण्डाफोर गर्ने म यो वाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई यहीबाट जनताको तर्फबाट चुनौति दिन चाहन्छु–खवरदार, हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरु, जनताले तपाईंका हात, तपाईको मुख च्यात्न नपरोस् भन्ने कुरापनि यहीबाट म खवरदारी गर्न चाहन्छु।’

प्रतिक्रिया