अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कडा कानुन ल्याइने


लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ । त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ । प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्।

त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ । राष्ट्रपति जो बाइडनले आफ्नो योजना सही दिशामा अघि बढेको तर आफूहरूले आह्वान गरेभन्दा धेरै कम समर्थन पाएको बताएका छन् । बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने अघिल्ला प्रयासहरूले कङ्ग्रेसमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएका थिए ।

हालैका दुईवटा सामूहिक गोलीकाण्डका घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिवार हजारौँले र्याली निकालेका थिए । उक्त द्विपक्षीय सिनेट समूहले एउटा विज्ञप्तिमा भनेको छ, ‘आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि एउटा सामान्य द्विपक्षीय प्रस्तावको घोषणा गरिरहेका छौँ।’

सिनेटरहरूले मानसिक स्वास्थ्य सेवा र विद्यालयमा सुरक्षाका लागि आवश्यक कुराहरूमा लगानी बढाउनका निम्ति पनि आह्वान गरेका छन् । घरेलु हिंसाको सजायमा कडाइ र बन्दुक किन्ने व्यक्तिहरूको पृष्ठभूमि जाँचका लागि राष्ट्रव्यापी डाटाबेस बनाउनुपर्ने कुरामा पनि उनीहरूको जोड छ । राष्ट्रपति बाइडनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे गरेका छन् । त्यसमा एसल्ट राइफलहरूमा पूर्ण प्रतिबन्ध वा किन्न पाउने उमेरलाई बढाउने लगायतका प्रस्ताव छन्।