काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले ४७ हजार ७५२ मत सहित अग्रता कायमै राखेका हुन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् । बालेन सिर्जना भन्दा १८ हजार ९ सय ३७ मतले अगाडि रहेका छन् ।
यस्तै नेकपा (एमाले) का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा छन् । त्यसैगरी उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुनिता डंगोलले अग्रता वढाउदै गएकी छिन् । डंगोलले ४४ हजार ७०५ मत पाउँदा प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत मात्र पाएका छन् ।
पोखरामा आचार्यको अग्रता
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५२ हजार ९७२ मत पाउँदा एमालेका कृष्ण थापाले ४८ हजार ५३६ मत पाएका छन् । आचार्य ४ हजार ४ सय ३६ मतले अगाडि रहेका छन् । यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ्गले ५५ हजार ५सय ४ मत पाउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५१ हजार ४८२ मत पाएकी छिन् ।
वीरगञ्जमा सिंहको अग्रता कायमै
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटत्तम प्रतिद्वन्द्वी भन्दा १९ हजार ७१५ मतान्तरले अग्रता लिएका छन् । गठबन्धनका उम्मेदवार सिंहले ४० हजार १७२ मतसहित अग्रता कायमै राखेका छन् ।
नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले २० हजार ४५७ मत प्राप्त गरेका छन् । महानगरपालिकामा हालसम्म ३२ मध्ये २० वडाको मात्र मतगणना भएको छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पनि चुनावी तालमेल भएको थियो ।
ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार महर्जनले ३९ हजार १३१ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले २२ हजार ६२० मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले २२ हजार ३०९ मत र निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १५ हजार ६३६ मत पाएका छन् । हालसम्म २२ वटा वडाको मतगणना सकिएको छ । हाल वडा नम्बरहरू २२, २४, २५ र २६ को गणना जारी रहेको छ । कूल २९ वटा वडा रहेको महानगरको अन्तिम परिणाम मङ्गलबारसम्म आउने अपेक्षा गरिएको छ ।
भरतपुरमा रेनुको जित सुनिश्चित
चितवनको भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीले गन्न बाँकी मतभन्दा पनि बढीको मतान्तर बनाएका छन् । २९ वडा रहेको भरतपुर महानगरपालिकामा सोमबार साँझ वडा नम्बर २७ को मतगणना सुरु भएको छ ।
मेयरमा रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेद्वार एमालेका विजय सुवेदीले ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत ल्याएका छन् । मेयर पदमा रेनु दाहालले सुवेदीभन्दा ११ हजार ४५७ मत बढी ल्याएकी छन् । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो ।
दुईवटा वडाको मत गणना सुरु नहुँदै रेनु दाहालको जित निश्चित भएको छ । त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरमा छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत आएको छ ।
अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको हुँदा उपमेयरमा चित्रसेन अधिकारी पक्का भएका छन् । भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहे पनि एक लाख २७ हजार ८३९ ले मतदान गरेका थिए । हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया