के धरानवासीको हर्ष बन्लान् त हर्क ?



देवेन्द्र कार्की, धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको मेयरमा विजयी भएका छन् ।

साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार ८२१ मत प्राप्त  गरेका छन् भने उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे ।

यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगर प्रमुखमा नेकपा (एमाले)का मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् ।

सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनी प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए । एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन् । उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए ।

को हुन् हर्क साम्पाङ ?

हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन् । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् ।

अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफगानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे ।

अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो । उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट सुरुवात गरे । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए । यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए ।

धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे । ‘सतिसाल’झँै नागरिकका सानातिना समस्यामा उनी आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन् । “यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो । उहाँहरुप्रति धेरै कृतज्ञ छु”, नवनिर्वाचित साम्पाङले भने ।

विसं २०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ ।

उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन् । “धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ”, उनले भने ।

अभियन्ता साम्पाङ

धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन् । उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिनु भई सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए ।

एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।

“धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद विषय हो”, मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्रोहीले भने । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरेका छन् ।

धरानमा विसं २०७६ पछि एमाले पछि पर्यो

वामपन्थी गढका रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा (एमाले)का लागि ठूलो प्रतिष्ठाको विषय थियो । विसं २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ ।

स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काउनुभयो । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पारेका हुन् ।

ठूलो सङ्घर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहेका थिए, हर्क साम्पाङले जीत हासिल गरे ।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विसं २०१७ मा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जीत हासिल गर्दै आएको थियो ।

विसं २०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा विसं २०४८ र २०५४ मा भएका निर्वाचानमा समेत एमालेले विजयी हासिल गर्दै आएका थिए । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जीत हासिल गरेका थिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गरे ।

विसं २०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार ७०९ मत प्राप्त गरे भने प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए ।

धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा यसपटकको निर्वाचनमा ६२ हजारले मतदान गरेका छन् । यसपटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री