सौन्दर्यको त्यो बजारमा क्रन्दन छ, चिच्याहट छ, जीवनको याचना छ



डा. प्रदीप ढकाल ।
सौन्दर्यता केमा हेर्ने ? शरीरको बनावटमा ? रंगमा ? वाणीमा ? वाचालतामा ? आँखाको चञ्चलतामा ? वा मस्तिष्कको क्षमतामा ? मनको पवित्रतामा ? एउटा मयुर सुन्दर देखिन्छ । एउटा जुरेली चरो आफ्नो चुल्ठोमा घमण्ड गर्दैन । खरायो र बिरालाले आफ्नो चालमा ध्यान नै दिँदैनन् । लाटोकोसेराले स्थिर नजर लगाएर यताउति पल्याकपुलुक गर्दछ । प्रकृतिका अरु कुनै पनि प्राणी जगतमा सौन्दर्यको प्रतिष्पर्धा हुँदैन । अस्तित्वको प्रतिष्पर्धा स्वाभाविक छ ।

गोरो र कालोमा गरिने टिप्पणी बिभेद हो । अनुहार र शरीरको बनावटमा गरिने टिप्पणी प्रकृतिको सिद्धान्त बिपरित हो । चेतनशील प्राणी मानवका लागि सुन्दरता मनको हुन्छ, चेतनाको हुन्छ । सुन्दर मानवहरु समाजमा बिचरण गरिरहँदा अलौकिक ऊर्जा प्रवाह भइरहन्छ । अत्तरको बासना होइन मानव मनको गहिराईसम्म पुग्न सक्ने हृदयको आवाज फैलिरहन्छ । ऊ हिँडिरहँदा समग्र वातावरणमा नै सकारात्मक ऊर्जाको प्रवाह भइरहन्छ ।

तर हामी कहाँ छौँ ? केलाई सुन्दरता मानिरहेका छौँ ? हामीले रोलमोडल कसलाई मानिरहेका छौँ ? रोलमोडलको प्रभावमा हामी शरीर रंगाइरहेका छौँ कि हाम्रो मनलाई बिकसित गरिरहेका छौँ ? हाम्रो समग्र सभ्यतालाई कतातिर लम्काइरहेका छौँ ? प्रतियोगिताका नाममा मानव चेतनामाथि नै प्रश्नचिन्ह खडा गर्ने सौन्दर्य प्रतियोगिता बन्द गर्नुपर्दछ ।

हाम्रा घरका दराजहरु हेरौँ त – सौन्दर्य सामाग्रीले दराज भरिएका पो छन कि ? मनलाई माझ्नका लागि र ज्ञानका लागि सँगालिएका पुस्तकहरु छन् कि ? अनि तुलना गरौँ त हाम्रा सन्ततिले हामीले सँगालेको कुन चिज देखेर हामीलाई पछ्याउने ?

कला र सिर्जनाका लहरले समाज ढकमक्क भए कति सुन्दर हुन्थ्यो होला है । संगीतका धूनहरुले मानव हृदय झङ्कृत गरिरहँदा, मानव मनका भावनाहरु कला र कवितामा व्यक्त हुँदा देखिने सुन्दरता कति गहन हुन्थ्यो होला । हरेक घरका दराजहरु पुस्तक र कलाका सिर्जनाले भरिए मानव सभ्यता सुख र समृद्धिमा कति अगाडि लम्किन्थ्यो होला है । मानव सभ्यताको बिकासमा व्यक्तिव्यक्तिले दिन सक्ने योगदानको छलफल र बहस भइदिए सँगै बसेर सुनिरहेका बच्चाबच्चीहरुले ब्रह्माण्डमा पुग्ने कल्पनामा रमाउने थिए होला नि ।

मानव आफूमा जीवन रहेको बोध गर्न सक्दछ । आफू जीवित रहेर सृष्टिका अन्य जीवनको सम्मान गर्न सक्दछ । आफ्ना वरपरका अन्य मानवको जीवनको सम्मान गर्न सक्दछ । यस ब्रह्माण्डमा आफ्नो अस्तित्वको बोध गर्न सक्दछ । यही नै मानव चेतना हो । सृष्टिका यावत तत्वसँग जोडिँदै ब्रह्माण्डीय शक्तिसँग एकाकार गरेर उच्च चेतनाको अवस्थासम्म पुग्न सक्दछ ।

सभ्यताको बिकासका क्रममा मानिसले प्रकृतिका चम्किला र रंगीचंगी चिजहरु शरीरमा लगाउन सिक्यो । नदी किनारका चम्किला पत्थरहरु बच्चाहरुले सँगाल्दै हिँड्न रमाउँछन् । बगैँचाका फूलहरु शिरमा सिउरिन रमाउँदछन् । प्रकृतिका बिभिन्न रंगहरु शरीरमा पोतेर बिभिन्न हाउभाऊ प्रस्तुत गर्दा उमंगित हुन्छन् । यो मानव मनको प्रकृति हो । आदिमकालदेखि चलिआएको यो कुरा अहिले पनि देखिन्छ तर बिभिन्न स्वरुपमा । सौन्दर्यको स्वाभाविक चेतना प्राकृतिक हो तर त्यसलाई प्रतिष्पर्धामा ढाल्नु मानव चेतनाको बिपरित छ ।

अहिलेको दुनियामा शरीर सौन्दर्यको बजारले व्यापकता पाएको छ । मानिस भौतिक बस्तुका रुपमा स्वयं परिभाषित हुन रुचाइरहेको छ । मानिसलाई चाहिने आधारभूत आवश्यकताका चिजहरुको उत्पादन र बितरण त स्वाभाविक छ तर पनि समग्र बिश्वको बजार सौन्दर्य प्रसाधनका सामग्री, लागूपदार्थ र मद्यपानका सामाग्रीले चलाइरहेको छ । जडिबुटी र बनस्पतिबाट बन्ने प्राकृतिक सौन्दर्यका सामाग्री बाहेक सौन्दर्य प्रसाधनका सामाग्री बनाउन कैयौँ कीटपतंग र जीव मारिन्छन् । गाई, भेडा, बंगुर ह्वेल माछा, सार्कजस्ता कैयौँ प्राणी तिनको शरीरका अंगको प्रयोगका लागि मारिन्छन् । कैयौँ जीवलाई यातनाका कारण घोर पिडापछि निस्कने तत्वको प्रयोग गरिन्छ । मुसा, खरायो, सानो बंगुरजस्ता सोझा र सरल प्राणीमा प्रयोग गरेपछि बल्ल मानिसले प्रयोग गर्न बजारमा पठाइन्छ । अर्थात् सौन्दर्यको त्यो बजारमा क्रन्दन छ, चिच्याहट छ, जीवनको याचना छ । तर सुनिदिने कसले ?

स्वाभाविक जवाफ छ – चेतनशील भनिएको मानवले । सभ्यताको पुनर्मूल्यांकन गर्ने बेला आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ