काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबारसंसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् ।
उनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको दाबी गरे । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताए ।
नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भएपनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाई छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए ।
उनले भने – ‘कतिपय ठाउँहरुमा नहालेको पनि देखियो । तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझैपनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ ।’ उनले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताए ।

प्रतिक्रिया