काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वैध चरित्र बारम्बार देखिएकोले अहिले काँग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए ।
महामन्त्री थापाले काँग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए । उनले यदि सबै क्षेत्रमा काँग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउने बताए ।
उनले भने, ‘मैले नजिकबाट हेर्दै गर्दा नेपालको राजनीतिक पक्षमा नेपालमा कम्युनिष्ट पार्टीहरु एकै पटक मिलेर सरकारमा बसेको पनि देख्यौँ । तुरुन्त नेपाली काँग्रेससँग बसेर सरकार बनाएको पनि देख्यौँ । सरकारमा बस्दा बस्दै आधाले छोडेर गएर अर्को पार्टीसँग मिलेर चुनाव लड्न गएको पनि देख्यौँ । रातारात पार्टी नै बनाएको पनि देख्यौँ । रातारात पार्टी नै तोडेको पनि देख्यौँ । यो सबै कुराबाट मैले बुझेको र मैले हरेको कुरा के हो भने नेपाली काँग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन् । हामी त्यसमा चित्त बुझाउने हो ? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी निरन्तर रुपमा कुनै न कुनै कम्युनिष्ट पार्टीको डरमा हामी बाँचिरहनु पर्ने हुन्छ । हामी अहिले डराउने भयौँ । हामीले सँगै लिएर नहिडे अर्को कम्युनिष्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ । यो चुनावसम्ममा यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ । ठूलो चुनावमा झनै तर्साउने भए । मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो । फेरि मिल्ने भयौँ । फेरि मिल्दा चुनाव पनि जितौँला । चुनाव जितेको भोपिल्ट दिने हो कि होइन भन्ने भए । फेरि हामी डराउने भयौँ ।’
महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको बताए ।

प्रतिक्रिया