लघुकथा : चेलीको आशा
प्रभादेवी पौडेल।
केहि दिन अगाडि मात्र माईतीमा हप्तादिन बसेर आमाको हातको खाना खाएर घर गएकी शोभा दुर्भाग्य बस घर फर्केको भोलिपल्ट आमा स्वर्ग बास हुनुभयो भन्ने खवरले बेहोस भईन्। हुन पनि आउने थाहा पाएर दिनभरी बाटो हेर्ने र जान्दा देखिन्जेल सम्म हेरिरहने आखिर आमा नै त हो नी। उनी के गरेर माइती पुगिन् आफैलाई थाहा भएन। माइतीको आगन टेक्ने बित्तिकै आमा भन्ने एक शब्द के निस्किएको थियो त्यसपछि गला अबरुद्ध भयो।
दाजुले शोभाको आँशू पुछ्दै भने,-” नरोऊ बहिनी यो दाइको अनुहारमा हेर म मेरी बहिनीलाई कहिल्यै बाबा आमाको अभाव खड्किन दिन्न ।” भाऊजूले आफ्नो काखमा शोभाको टाउको अड्याएर कपाल मुसार्दै भनिन् , -” के गर्नु भएको नानी यस्तो ? हामी त मरेका छैनौँ नी। मेरो पनि पोहोर साल आमा बित्नु भएको हो। यो नियम त स्विकार गर्नै पर्छ सबैले। उनलाई सम्झाउॅदै छिमेकीले भने,-” यति धेरै माया गर्ने दाजु भाऊजू हुँदा हुँदै किन पीर मान्छेस् नानी ?”
सबैका सहयोग र सहानुभूतिले तेह्र दिन बिते। गहुॅत खाएकै दिनमा दाजु भाइले सबै फुकाए। जे होस् बर्ष दिन सम्म खाने कुरा जे जे खाएपनि पूजामा सरिक भएनन्। बर्ष दिनमा एकाहा लगाए।
बा आमा हुनेलाई भन्दा न भएकालाई माइतीको ठुलो आस हुन्छ भनेझै नयाँ बर्ष तीज,पुसे पन्ध्र, दशैं तिहार ,माघे साऊने सक्रान्ती, चैतेदशैं जस्ता चाड पर्बमा आमाले छोरा छोरीलाई घेरा लागाएर मिठो मसिनो पकाई ख्वाएको झल्झल्ती सम्झना आयो ।
नयाँ बर्षको दिन थियो। बाटा भरि आफन्त कहाँ जाने मानिसको लर्को देखेर बिहानै देखि आशा बादी भईन् शोभा । मन थाम्न सकिनन्। एक बजेतिर फोनको घन्टी आयो। निक्कै खुशी भएर उठाईन्। दाइको फोन रहेछ -“बहिनी भाउजु बिरामी भएर बोलाउन पाईन दु:ख नमानेस्।”यो सुनेर उनलाई आमाको निक्कै याद आयो र फोन राख्ने बित्तिकै डाँको छोडेर रोइन्।
ऊनी रोएको देखेर पतिले भाव बुझि आज सबै बाहिर खाना खाने भनेर रेस्टुरेंटमा लगे । अचम्मको कुरा के भने नी त्यहाॅ त दाइ भाउजु लगाएत भाऊजुका माइती पट्टिका नातेदार हातमा बियरको बोतल समाएर म्युजीकको तालमा झुमिरहेका थिए।