पाँच दलीय गठबन्धनले ढिलो कुरा बुझ्छः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन स्वार्थको साँठगाँठले बनेकाले यो सरकार छिटो ढल्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने आरोप लगाए। उनले यो सरकार रहेसम्म मुलुक धरासायी हुने बाहेक केही नहुने आरोप लगाए । उनले सरकार कुहिएर आफैं झर्ने बताए ।

उनले भने, ‘पाँच दलीय गठबन्धनले आफ्नो स्वार्थका लागि सम्पूर्ण चिज प्रयोग गर्छन् । मैले सरकारको नेतृत्व गर्दा प्रचण्ड, माधव नेपाल र झलनाथले आफ्नो स्वार्थ मात्रै हेरे । कसरी चलाएँ हुँला सरकार भन्नुस् त।’

चोभारमा सुख्खा बन्दरगाह बनाउन लाग्दा कांग्रेसले अवरोध गरी शिलान्यास नै मुस्किलले गरेको भन्दै अध्यक्ष ओलीले तर प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो उद्घाटन गरेको बताए । उनले भने,‘यति बेला आएर उहाँले कुरा बुझ्नुभयो । अर्थात् पाँच दलीय गठबन्धनले कुरा ढिलो बुझ्छ । हाम्रा मित्रहरु शिलान्यास गर्ने बेला कुरो बुझ्दैनन् । उद्घाटन गर्ने बेला कुरा बुझ्छन् र बत्ती बाल्न जान्छन् ।’

अध्यक्ष ओलीले एमाले अहिले केही समयका लागि प्रतिपक्षमा रहे पनि चुनावपछि फेरि सरकारको नेतृत्व गर्ने दाबी गरे । उनले अप्ठेरो र अवरोधकोबीच पनि कसरी काम गर्नुपर्छ भन्ने आफूले बितेका तीन वर्षमा धेरै सिकेको बताए । उनले अप्ठेरोमा काम गर्न आफू अभ्यस्त भइसकेको भन्दै अब चुनावबाट बाँकी योजना पूरा गरिने बताए ।