काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सा हटाइएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दूतावासबाट चुच्चे नक्सा हटाएकोमा आपत्ति जनाएका हुन् । उनले भने,‘दिल्ली दूतावासमा संविधान संशोधन गरी राखेको चुच्चे नक्सा हटाइएको छ । बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा राखेर फर्किनुहुन्छ त शेरबहादुर जी? योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’
उनले पाँच दलीय गठबन्धनले राष्ट्रियता, भौगोलिक अखण्डतासँग सौदाबाजी गरेको आरोप लगाए । अध्यक्ष ओलीले यो गठबन्धनले राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खेलबाड गरेको आरोप लगाएका हुन् । उनले चुनाव नजिकिदै गर्दा प्रधानमन्त्रीको भारत भ्रमण शंकास्पद भएको बताए । उनले भने, ‘केका लागि जानुभएको हो दिल्ली ? यो सरकारलाई देशको नक्सा थाहा छैन, भूगोल थाह छैन भने के चाहिँ थाह छ ?’

प्रतिक्रिया