काठमाडौं । नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाहल प्रचण्डले देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताएका छन् ।
शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश संकटमा परेका बेला माओवादीले जोगाएको दाबी गरे ।
आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई भोट हाल्नु देश दुर्घटनामा धकेल्नु भएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुक अहिले अप्ठेरोमा परेकाले अब उनको पार्टीलाई भोट नहाल्न उनले आग्रह गरे । “जनताले ओलीलाई मुलुक निर्माण गर्ने राम्रो अवसर दिएका थिए, तर ओलीले सम्हाल्न सकेनन्, अब पनि एमालेलाई भोट हाल्नु भनेको मुलुक दुर्घटनामा फस्नु हो,” उनले भने ।
शान्ति सम्झौता, संविधान गणतन्त्र,समावेशिता र स्थानीय सरकार गाँउ गाँउ पुर्याउने काममा नेतृत्व गरेको बताउँदै हरेक संकटमा माओवादीले देशलाई निकास दिने गरेकाले माओवादीप्रति जनतामा आकर्षण बढेको उनको भनाई थियो ।
उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्यौं,’ उनले भने, ‘तर, एकजना व्यक्ति, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’
केपी ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरूप प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्न आग्रह गरे ।

प्रतिक्रिया