यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय


काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौदेखि रहदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए। उनले भारत भ्रमण मुलुकको हितमा भ्रमण केन्द्रीत रहने पनि बताए। मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको उनले बताए।

मन्त्रिपरिषद् बैठकका १० निर्णय :

१. प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गर्ने भारत भ्रमणको प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने।

२. अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँचमार्ग छ्याङ्गकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने गराउने ।

३. विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्त तालिम बैठकमा नेपालको सहभागिताको लागि अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने।

४. आयोजनाको वहुवर्षीय ठेक्का सम्बन्धी दोस्रो संसोधन, मापदण्ड २०७८ स्वीकृत गर्ने।

५. नेपाल–कम्बोडिया (टिफा काउन्सिल) को प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत गर्ने।

६. उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी पहिलो संसोधन कार्यविधि–२०७८ स्वीकृत गर्ने।

७. नेपाल प्रहरीको रिक्त तीन अतिरिक्त महानिरीक्षकको पदमा वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई बढुवा गरि रिक्त पदमा पदस्थापन गर्ने।

८. राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने।
९. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा श्री संगीता खड्का (काठमाडौं) लाई नियुक्त गर्ने।

१०. गोरखापत्र संस्थानको रिक्त महाप्रवन्धक पदमा लालबहादुर ऐरी (डडेलधुरा) लाई नियुक्त गर्ने।