ओलीका साइबर स्यालले हैरान पारेः माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् । उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्न नहुने बताए ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए । उनले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको बताए । उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्ना र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पनि बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए ।

उनले भने, ‘तपाईँको र एमालेको पार्टीमा के फरक छ कमरेड ? तपाईँका दुई मन्त्रीहरु एमालेमा जान लाग्नुभएको हो कमरेड ? अरु पार्टी र तपाईँको पार्टीमा के फरक छ र तपाईँलाई जिताउने कमरेड ? भनेर धेरै प्रश्नहरु उदाहरणको निम्ति एउटा प्रचार गरिएछ, दुई मन्त्री प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठमध्यरातमा बालकोट पुगेछन्, केपी ओलीसँग गोप्य वार्ता गरेछन्, अब उनीहरुको टिकटबाट चुनावमा लड्ने रे । त्यसले कतिपय हाम्रा कमरेडहरुको निन्द्रा खराब । बिरोधीले, केपी ओलीको साइबर स्यालले प्रचार गरेको कुरालाई पत्याएर हो कमरेड भनिरहेका छन् । हैरान । हो को जवाफ दिँदा हैरान । सिधै ती त फटाहाहरु हुन् भनेर जवाफ दिने हो । जसमा कुनै सत्यता छैन । गलत सूचना हो ।’