यस्तो खालको राजनीति नै गर्ने हो भने धनराजहरू किन चाहियो ?



नारायण गाउँले ।

“प्रचण्ड हातमा कटौरा बोकेर बालुवाटारदेखि बालकोटसम्म भीख माग्दै हिँडेका छन्” यो तुच्छ स्तरको भाषण कांग्रेसका आशालाग्दा भनिएका नेता धनराज गुरुङको रहेछ ! प्रतिपक्षको भूमिकासम्म निभाउन नसक्ने गरी कोमामा पुगेको कांग्रेसलाई आज सत्तासम्म ल्याइपुऱ्याउने काम प्रचण्डहरूकै हस्ताक्षरले गरेको होइन र ?

हो, ओलीमा दुई तिहाईको अप्रत्याशित दम्भ, निरङ्कुशता र मिचाहा प्रवृत्ति नदेखिएको भए कम्तिमा देशले पाँच वर्षका लागि स्थायी सरकार पाएको थियो । तर जसरी ओलीले जनमतको कदर गर्न सकेनन्, कांग्रेसले पनि प्रतिपक्षको एक सुको भूमिका निभाउन सकेन । गोकुल बाँस्कोटादेखि यति र ओम्निसम्म बरु नागरिक समाज बोल्यो, मिडिया बोल्यो, नेकपाकै नेताहरू बोले तर कांग्रेस बोलेन । विष्णु पौडेललाई किन जोगाइयो भनेर आन्दोलन गर्न पर्ने पार्टी विजय गच्छदार बचाउनतिर लाग्यो ! गुठी मासेर मठमन्दिर र संस्कृतिको जरो कमजोर बनाउने प्रयास हुँदा बरू रैथाने नेवारहरू बोले, कांग्रेस बोलेन । एक दिन पनि संसदको रोस्ट्रममा उभिएर प्रमुख प्रतिपक्षका नेता शेरबहादुरले सम्झन लायकको भाषण गरेनन् मात्र होइन, रातारात संसद विघटन गर्दा एउटा समर्थन या विरोध के गर्ने भन्नेमैं प्रष्ट हुन सकेनन् ! आफ्नो राजनैतिक भविष्य दाउमा राखेर भए पनि बरू तत्कालीन नेकपाका नेताहरूले प्रतिपक्षको भूमिका खेले ।

प्रचण्ड सहकार्य गर्नलायक व्यक्ति होइनन् भने सत्तामा सहकार्य किन ? सत्ताका लागि नैतिकता नभए पनि हुने हो ? के कांग्रेसको मुख्य प्रतिष्पर्धा माओवादीसँग हो ?

कांग्रेसको कोर टिममा भएका धनराज जस्ता व्यक्तिले चुनाबी रणनीति बनाउने, पार्टीलाई चुनाबी तालमेल जरूरी नभए नगर्ने नीति बनाउने र त्यसै अनुसार आन्तरिक सर्कुलर गर्ने पो हो । क्षणिक तालीका लागि सत्ता साझेदार दलबारे तुच्छ भाषण गर्दै हिँड्नु के जरूरी होला ?
एमाले र माओवादी मिल्दा नतिजा कस्तो आउँछ भन्ने त गुरुङले पनि पक्कै देखेका नै छन् । अहिलेको फुर्ती माओवादी अलग भएकोले एमालेलाई हराउन सकिन्छ भन्ने न हो । त्यस अर्थमा पनि प्रचण्डलाई भिखारी भनेर, कमजोर बनाएर कांग्रेसलाई फाइदा होइन, नोक्सान नै हुने होला । जति प्रचण्ड कमजोर देखिन्छन्, माओवादीमा त्यत्ति नै पहिरो जाने हो । त्यसको फाइदा एमालेलाई हुने होला । यसर्थ रणनीतिक हिसाबले पनि धनराजहरूको यो भाषण प्रत्युत्पादक नै होला । अनि त्यही भिखारीको हस्ताक्षरले बनेको देउबा सरकारलाई के भन्न मिल्ला ?
पछिल्लो केही समयदेखि माओवादी आफैमा क्षयीकरण हुँदै गएको तथ्य छर्लङ्ग नै छ । पक्कै अहिले यो दल अस्तित्व र औचित्य पुष्टिको सङ्कटमा छ । नेकपा एसको अवस्था त झन दयनीय छ । यसबाट प्रत्यक्ष-परोक्ष अन्य दललाई फाइदा पुगेको छ र यो स्वाभाविक हो । तर, कांग्रेस पनि त धेरै वर्षदेखि एकल बहुमतमा छैन । उसले पनि भोलि सरकार बनाउन कटौरा थाप्नै पर्ने होला ।

धनराज जस्ता नेताले राजनीतिमा सम्मान र संस्कार पो घोल्ने हो । राजनैतिक र सभ्य भाषामा समर्थन या विरोधको आफ्नो मत राख्ने हो । यस कारण माओवादी या अन्य दलसँग चुनाबी तालमेल जरूरी छैन भनेर बुझाए सक्किने विषय हो यो । यदि सार्वजनिक चासो र भ्रष्टाचारका मुद्दा छन् भने त्यसमा शून्य सहनशीलता अपनाउने हो ।

यसरी कुनै दलका नेतामाथि घटिया स्तरको टिप्पणी गरेर तिनका कार्यकर्ता र समर्थकको चित्त दुःखाउनु अबको पुस्ताका नेताका लागि शोभनीय नहुनुपर्ने हो । एक-अर्कालाई गाली र व्यङ्ग्य गर्ने, भ्रष्ट र राष्ट्रघाती भन्ने अनि सत्ताका लागि उसैसँग पार्टी एकता या सहकार्य गर्ने खालको राजनीति नै गर्ने हो भने धनराजहरू किन चाहियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट