वर्तमान गठबन्धन यसकारण देउवाको हितमा



जेपी गुप्ता ।
प्रजातन्त्रहरू ‘बलियो’ हुदै गएपछि यस्तो पनि अवस्था आउँछ । एउटा व्यक्ति–संस्था र नीति दुबैको स्रोत बन्न जान्छ । नेपाली काँग्रेस भित्र आजको यथार्थ हो यो। केही अपवादको अल्प समय खण्ड बाहेक नेका “ट्रोईका” मै चलेको हो। बीपी, गणेशमान र किसुनजीको। फेरि गणेशमान, किसुन जी र गिरिजाबाबुको। गणेशमान र किसुनजी पछि गिरिजाबाबुको समय पनि आजको शेरबहादुरजीको समयका झैं थिएन।
आजको अवस्था एकदमै भिन्न छ। आज नेपाली कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवा जीले भनेकै कुरो हुन्छ। कुनै पनि बिषयको समयसापेक्षता तथा सान्दर्भिकताको परिभाषा उहाँमै निहीत भएको छ।

कम्युनिष्टहरूसँगको सहकार्य नेपाली कांग्रेसभित्र कहिल्यै पनि एकमतताको बिषय रहेन। सुवर्णजी र बीपी कोइरालाको पुरै समयावधिमा यो सम्भव भएन। बि.स. २०४६ सालको पहिलो जनआन्दोलन ताका भएको कम्युनिष्टहरूसँगको सहकार्य नेपाली कांग्रेसभित्र निर्विवाद थिएन। गणेशमान सिंह र किसुनजीलाई कम्युनिष्टहरूप्रति झुकाव राख्ने भनिएपनि यो सत्य होइन। उहाँहरूका सम्मुख कम्युनिष्टहरूले बिस २०३७ सालको जनमत संग्रहमा पञ्चायतलाई सघाएको तितो अनुभव थियो। यसर्थ, उहाँहरूले संयुक्त मोर्चाको नाउँमा कम्युनिष्टहरूलाई रिंग भित्र राख्न चाहनु भएको हो। जबकी, गिरिजाप्रसाद कोइरालाको नजरमा बहु प्रचारित “माले–मशाले र मण्डले एकै हुन्” यो सोच रहेको थियो।
बि.स. २०४७ गएको ३१ बर्ष भयो। त्यसबेलाका घटनाहरूका जानकारहरू आज देखेका कुरा लेख्न छाडेका छन्। आज जो लेखेर अभिमत निर्माण गर्ने काममा छन्–ती त्यस कालखण्डका बारेमा अनभिज्ञ छन् । यसले गर्दा ०४६÷४७ को आन्दोलनमा कम्युनिष्टसँग नेपाली कांग्रेसको संयुक्त मोर्चा अपरिहार्य थियो कि थिएन र के यसबाट नेपाली कांग्रेसलाई लाभ भयो त ? यसको सत्य जवाफ आई रहेको छैन। ०४६÷४७ को आन्दोलन पूर्व र पछि २०४८ को पहिलो आम निर्वाचनसम्म निरन्तर कम्युनिष्टहरूले नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्न दबाव दिइरह्यो। यस कालखण्डको बस्तुपरक अध्ययन हुनु जरूरी छ। हो, यस कुरामा दुईमत हुन सक्दैन कि दोस्रो जनआन्दोलनको सफलताका लागि कम्युनिष्टहरू सँगको सहकार्य र मोर्चा बस्तुपरक आवश्यकता थियो।

मैले यी पंक्तिहरू लेख्दा किमार्थ पनि यो अर्थ लाग्नु हुन्न कि म नेपाली कांग्रेसको कम्युनिष्टहरूसँगको सहकार्यको बिरोधमा छु । अहिले जुन उद्देश्यका लागि तथा जुन तर्कका साथ कम्युनिष्टहरूसँगगको सत्ता गठबन्धनलाई अगाडि बढाउने कुरा आएको छ–यसलाई बुझ्न कठिन भएको छ। अब अगामी चुनावहरूसम्म कम्युनिष्टहरू समेतसँग गठबन्धनलाई निरन्तरता दिनका लागि हालै प्रधानमन्त्री तथा नेकाका सभापति शेरबहादुर देउवाले भन्नु भएको छ; अहिलेको सत्ता गठबन्धन कै कारणले उहाँ प्रम हुनु भएको हो। यसर्थ, कुनैपनि काँग्रेस जनले गठबन्धनको बिरोध गर्नु हुँदैन। चिढ्याउनु हुदैन। हामी अगामी चुनावहरूसम्म गठबन्धनमै जाने हो। अर्थात्, माओवादी,नेकपा एकीकृत समाजवादी र जसपासँग गठबन्धन कायम नै राखेर चुनावमा जाने।

कांग्रेसले चाहेको यस गठबन्धनको निरन्तरता के का लागि ? सरल रूपमा जवाफ खोज्ने हो भने पहिलो बझाई हुन्छः
१) एकल रूपमा नेका बहुमत ल्याउने ल्याकत राख्दैन।
२) शेरबहादुरजीमा निर्वाचन पछिको संसदबाट पुनः प्रधानमन्त्री हुने इच्छा छ। प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका पार्टीका साथ गठबन्धन गरी चुनावमा जाँदा नेपाली कांग्रेसको बहुमत एवं संख्यात्मक प्रधानता रहन्छ। प्रधानमन्त्रीमा देउवाजीको दावी स्वभाविक हुन्छ।
३) नेकाले आफ्नो नेतृत्वमा यसरी बहुमत ल्याउन सकेमा मुख्य बिपक्षी एमालेलाई अझ कमजोर पार्न सकिन्छ। यो स्थितिमा हालै यो गठबन्धनको सरकारले हालै बनेको परिदृश्य अनुसार भारत–अमेरिकी धुरीको भरपर्दो नेपाली पक्ष बन्नेछ,यसबाट अनेक थरीले लाभान्वित भैरहने छन् ।

नेपालमा र नेकामा शेरबहादुरजी अहिले बलियो मानिनु हुन्छ। उहाँ प्रधानमन्त्री पदको चिरन्तर आकांक्षी पनि हुनुहुन्छ । वर्तमान गठबन्धनको यसरी निरन्तरता अवश्यमेव् शेरबहादुरको हितमा नै हुन्छ। तर, यसबाट समग्रमा नेपाली कांग्रेसलाई कतिको लाभ हुन्छ–यसको आंकलन तथ्यगत रूपमा नेकाका नेता कार्यकर्ताहरूले गर्ने होलान् । नेकालाई दीर्घकालिन लाभ हानी जे भएपनि, यदि शेरबहादुरले यही चाहनु भएको हो भने उहाँले गरेरै छाडनु हुन्छ–यो बुझे हुन्छ ।

शेरबहादुरजीले काँग्रेसका सबै पुराना मित्रहरूलाई परित्याग गरिसक्नु भएको छ। उपयोगी मानिसहरूको उपयोग गर्ने र पछि छोडदिने कुरामा उहाँ गिरिजाप्रसाद कोइरालालाई धेरै पछाडि छोडनु भएको छ। यस अर्थमा गठबन्धनका नयाँ मित्रहरू उहाँका समयोपयोगी साथी हुन सक्छन्। तेसो भए यस मित्रतालाई अझ प्रबल तथा दरो किन न बनाउने ?

नेपाली काँग्रेस र माओवादी, नेकपा समाजवादी तथा जसपामा के नै आधारभूत अन्तर रहेको छ र ? भारत–अमेरिकाको दृष्टिकोण, वैदेशिक सहयोग तथा अनुदान प्राप्ति तथा प्रबन्धनमा समान सोच, संसदीय प्रणालीको सम्पादन विधीमा एकरूपता, संघीयता र गणतन्त्र, बिकाश–अर्थनीति, राज्यका शक्ति परिचालनका निकायहरूमा सहकार्य एवं भागवण्डा, जन प्रतिनिधित्व प्रणालीलाई हाक्ने तरिका जस्ता सवालहरूमा यिनीहरूका बीच लगभग एकैखाले सोच बिचार रहेको छ। यसो हुँदा बिथ्थाको गठबन्धन किन नि ? एकीकरण मै जानु श्रेयस्कर होइन र? कमसेकम थोरै भएपनि राजनीतिको धमिलो रंग संग्लो हुन्छ कि? गठबन्धनको सत्ता चिरन्तर तथा सत्ताको सुस्वादु भागिदारी “जत्र कुण्ड तत्र पानी” को हिसाबबाट हुन्छ नै। यसर्थ, प्रमजीको नेपाली काँग्रेस गठबन्धनका मित्रहरूसंग पार्टी एकीकरण कै बाटोमा जाँदा उचित हुन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर

केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति