पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् ।
सोमबार पोखरामा मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढाल्न संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताए ।
उनले भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेर सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र ब्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’ अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिए । मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरीकै अवधारणाभन्दा अगाडि रहेको उनको दाबी थियो ।
उनले भने, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिँ हाँड?घोप्टे छ, उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होइन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छ ।’ अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर इस्र्या गरिरहने चलन नै भएको बताए ।

प्रतिक्रिया