युक्रने मामिलामा भारत बोलेको छैन, नेपाल किन बोल्न पर्यो भन्ने तर्क केका लागि ?
नारायण गाउँले ।
के तपाईंलाई भारतले नेपालमाथि गरेको अमानवीय नाकाबन्दी उचित लाग्छ ? लाग्छ भने अलग भयो, यदि त्यो नाकाबन्दी गलत थियो भन्ने लाग्छ भने युक्रेनमाथिको बर्बर रसियन आक्रमण पनि गलत लाग्नुपर्ने हो । युद्धपीपासु पुटिनले जुन तर्क र औचित्य देखाएर शान्तिसेनाको नाममा युक्रेनमाथि बम वर्षा गर्दै छन्, भारतले नेपाललाई पनि ठ्याक्कै त्यस्तै तर्कका आधारमा नाकाबन्दी गरेको थियो । तपाईंले यसलाई युद्ध या आक्रमण भन्नुभएको होला, तर रसियाले यसलाई युद्ध भनेको छैन । उसको भाषामा रसियनभाषी नागरिकमाथि युक्रेनले चरम विभेद, हिंसा र अन्याय गरेकोले तिनको संरक्षण गर्न चलाइएको विशेष मिलिटरी अपरेशन हो यो ।
स्कुल, ट्रेन स्टेशनदेखि अस्पतालसम्म क्रूरतापूर्वक बम खसाइएको छ, गोली बर्साइएको छ र हजारौं निर्दोष मान्छेको ज्यान लिइएको छ । एउटा व्यक्तिको सनक र उन्मादका कारण एक हप्तामैं हजारौं मृत्यु, लाखौं घरबारविहीन र झन्डै डेढ़ करोड़ मान्छे शरणार्थी बन्न बाध्य भएका छन् । हजारौं नागरिक अङ्गभङ्ग भएर उपचारका लागि छटपटारहेका छन् तर उपचार टाढाको कुरा, पिउने पानीसम्म उपलब्ध छैन ।
यो सबै रसियाले रसियनभाषी नागरिकको सुरक्षाका लागि चालेको कदम बताएको छ ।
भारतले पनि यस्तै आरोप लगाएर नाकाबन्दी गरेको थियो । भारतीय मूलको भएकैले पचास लाख नागरिकलाई नागरिकता नदिइएको, तिनको अहित हुने प्रावधान संविधानमा भएको, हिन्दीभाषी भएकैले तिनलाई विभेद र बहिष्करण गरिएको, मधेशमा राज्यले बलपूर्वक दमन गरेको आरोप भारतको थियो । नेपाली मधेशी नेताहरूले दिल्लीलाई यस्तै ब्रीफिंग गरेका थिए र नाकाबन्दीका लागि आफै अनुरोध गरेका थिए । हाम्रो संविधानमा धर्मनिरपेक्षतादेखि मधेशी मुद्दासम्म भारतको असन्तुष्टि थियो ।
हजारौं मान्छेको रगत र आँसुले त तपाईंलाई नछोला, तर के तपाईं नेपालमा भारतले चाहेजस्तै संविधान बन्नुपर्छ भन्ने ठान्नुहुन्छ ? भोलि आफ्नो भूमिलाई नेपालले नक्सामा हालेको, र पाकिस्तान र चीनतिर नजिकिएर सुरूङ् युद्ध लड्ने भन्दै भारतीय सुरक्षामा चुनौती थपेको जस्तो बेतुके तर्क दिएर भारतीय सेना नेपाल आए त्यसलाई स्वागत गर्नुहुन्छ ? के भारतले त्यस्तै तर्कले हाम्रो स्वाभिमान र सार्वभौमिकतामाथि बूट बजार्यो भने अरू देश चुप बसून् भन्ने चाहनुहुन्छ ? आणविक शक्तियुक्त भारतसँग लड्न सकिन्न भन्ने सबैलाई थाहा छ, तर देशभित्र भारतीय सेना पस्दा ज्यान हत्केलामा राखेर कोही लड्यो भने त्यसलाई मूर्ख भन्नुहुन्छ ? अझ भारतले क्राइमियाजस्तै कुनै भाग हड़पेर लिने र हाम्रो नक्सा मेटाइदिने धम्की दियो भने सानो र कमजोर भएकैले नेपालले भारतको धम्कीलाई स्वागत गर्नुपर्छ भन्ने ठान्नुहुन्छ ?
होइन भने भारत बोलेको छैन, नेपाल किन बोल्न पर्यो भन्ने तर्क केका लागि ? भारतले पुटिन शैलीमा अफगानिस्तानदेखि बङ्गलादेशसम्म अखण्ड भारतको सपना देखेको होला र मनमनै खुशी होला तर हाम्रो खुशी केका लागि ? घरमा सुतिरहेका कलिला बालबालिकामाथि खसेको बमका लागि ? सानो भएकाले सार्वभौमिकता र स्वतन्त्र निर्णय गर्ने अधिकार हुनुहुन्न भन्ने भाष्यका लागि ? केका लागि ?