काठमाडौं । प्रतिनिधिसभा बैठकमा पार्टीको रणनीतिबारे नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)का शीर्ष नेताले छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको हो । छलफलमा तीनै नेताहरुले एमसीसीको विपक्षमा उभिने निर्णय गरेका बताइएको छ ।
उनीहरुले एमसीसीमा सैद्धान्तिक छलफल भई निर्णयार्थ पेश भएको अवस्थामा विपक्षमा उभिने निर्णय गरेका हुन् । दुबै पार्टीका भ्रातृ संगठनहरुले सडकमा एमसीसीविरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् ।
माओवादी र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि नेपाली कांग्रेसले नेकपाको समर्थन खोजिरहेको छ । तर नेकपा एमालेले पनि आफ्ना माग पूरा नगरी संसदीय प्रक्रियामा भाग नै नलिने बताउँदै आएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया