एमसीसी अनुमोदनका लागि सहमति जुटाउन गृहमन्त्री खाँणको दौडधुप


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाँणले प्रचण्डलाई भेटेका हुन् ।

भेटमा एमसिसी पारित गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । संसद बैठक बिहीबारका लागि बोलाइएको छ । त्यसअघि कांग्रेसले एमसीसीमा सहमति जुटाउन अन्य दलसँगको भेटघाटलाई तीव्र बनाएको छ ।

सत्तारुढ माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)ले भने एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । प्रचण्डसँगको भेटपछि गृहमन्त्री खाँणले भक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीसँग पनि खाँणले एमसीसी अनुमोदनका लागि सहयोग मागेका बताइएको छ ।

यसअघि मंगलबार साँझ एमाले अध्यक्ष ओली लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । भेटमा प्रधानमन्त्रीले एमसीसी अनुमोदनका लागि सहयोग मागेका थिए भने एमाले नेताहरुले आफ्ना माग पूरा नहुन्जेल कुनैपनि संसदीय प्रक्रियामा सहभागी नहुने जवाफ दिएका थिए । अमेरिकाले एमसीसी अनुमोदनका लागि नेपाललाई फागुन १६ गतेसम्मको समय दिएको छ ।