चेलीको व्यथा



चेलीको व्यथा
आफ्ना रहर र सपनालाई
तिलाञ्जली दिएर
अरुकै ईच्छा र सपनामा
जीवनको सार्थकता देख्नुपर्ने
चेलीको व्यथा …

आफैलाई जन्माएका जन्मदाता भेट्न
पनि स्वीकृति लिनुपर्ने
आफ्नै जन्म घर जान्छु है भनेर
अनुनय र बिन्ती गर्नुपर्ने

सम्बन्धका जञ्जालमा
गुम्सिएर विवाह बाँच्नुपर्ने
चेलीको व्यथा …
सँगै हुर्केका बालापनका सँगी
सँगै पढेका सहपाठी साथी
भेटौँ कि नभेटौँ भनेर
भरखर जोडिएको पुरुषसँग
स्वीकृति लिएर सम्बन्ध साँच्नुपर्ने

चेलीको व्यथा …
एउटाको गोठमा बाँधिएको गाई
मूल्य तिरेर अर्को गोठमा
बाँधिदिएजस्तै
सामाजिक दाम्लोमा डोरिएर जानैपर्ने
मार्गमा ठोक्किएको, अक्करमा मर्किएको
समाजका झिँगा भन्केर घाऊ बनाएको

खुट्टा चलाउँदा
डोरीले बाँधी दुहेर खाने दुनियामा
रहरले नभई बाध्यतामा बाँच्नुपर्ने

चेलीको व्यथा …
बन्धुबान्धवसँगको सम्बन्ध
जिउँदो राख्न
आफ्नै जन्मघर छाडिदिनुपर्ने
चाडपर्व र संस्कार जीवित राख्न

जन्मघरको अधिकार त्यागेर
सामाजिक नाटकमा अभिनय गरी
पराईलाई आफ्नो बनाई
जिन्दगीभर कठिन तालिम गर्दै
अरुको घर सजाई आफू उदास बाँच्नुपर्ने

चेलीको व्यथा …
निर्दोषपनमा मुस्काउँदै बाटोमा हिँड्दा
कामुक नजरको बाणले
प्रहार गर्ला,
जीवनदेखि थाकेर सुस्केरा हाल्दा
कमजोर ठानी आक्रमण गर्ला,
भञ्ज्याङ्मा एकैछिन सुस्ताउँदा पनि
झाडीबाट कसैले झम्टेला भनेर
मानिससँगै पलपल त्रासदीमा बाँच्नुपर्ने

चेलीको व्यथा …
जिइरहँदा पनि
पलपलमा आफ्नो अस्तित्व
मेटाइरहनु पर्ने
आफ्नो जीवनको मूल्य

अरुमै खोज्नुपर्ने
जीवनको स्वतन्त्रता बिर्सिई
बन्धनलाई चुपचाप स्वीकारेर
सामाजिक जञ्जालमा जीवन अल्झाई
आफ्नै जीवनको छायाँसँग
भाग्दै बाँच्नुपर्ने
चेलीको कथा …

डा. प्रदीप ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैनिक १९ हजार भन्दा बढी संक्रमित हुनसक्ने मन्त्रालयको प्रक्षेपण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनाको दोस्रो साता नेपालका कोभिड संक्रमण

१०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

जरुरी प्रकृतिका रिटको मात्र सुनुवाई गर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको कोभिड संक्रमण बढेको भन्दै सेवा कटौती गर्ने निर्णय गरेको

१४ जिल्लामा एमालेको नेतृत्व चयन गर्न बाँकी, ६३ जिल्ला चयन

काठमाडौं । नेकपा एमालेको ६३ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न