लघुकथाः म बाँझी होइन
प्रभादेवी पौडेल।
एकदिन अर्चना बिहानको खाना खाई वरि धन्दा सकेर पिढीमा यसो सुत्न भनेर के लागेकी थिईन् नजिकै बचाऊ बचाऊको आवाज सुनेर उनी झस्कीईन्। लाग्यो चोरले लखेटी रहेछ। उनले हतार हतार गरेर घरक्क ढोका खोलिन् र उक्त महिलालाई भित्र हुलेर ढोका बन्द गरिन्। एकैछिनमा एउटा युबक हातमा खुर्पा बोक्दै दौडिदै आएर भन्यो ,-“आमै भर्खर एकजना महिला यो बाटो गएको देख्नू भयो?” -“अहँ ।” यति सोधेर त्यो युबक बाटो लाग्यो। उनी भित्र पसिन् र सोधिन्,- “के भएको हो बहिनी ? अनि त्यो युबक को हो ?”
-“मेरो कुलँगार छोरो भनाउॅदो हो दिदी ऊ जुनिको साहू ,सबै सक्यो, यही एउटा बचेको घाँटीको तिलहरी पनि ले नत्र मार्छु भन्दै पछि पछि आईरहेको छ।”
यो सुनेर अर्चना एक्छिन टोलाएर सोच मग्न भईन्। -“के सोच्नुभएको दिदी?” -“केही होइन बहिनी ।” -“घरमा को को हुनुहुन्छ नी दिदी ?” -“म र उहाँ “भन्दै भित्ताको शिवको फोटोलाई देखाईन् । -” बिहे भएको होइन ?” -“खोई भयो भन्ने की भएन भन्ने ।” -“घरबार बिग्रेको
खोई त्यो पनि भन्न मिल्दैन।” -” माईती बस्नु भएन?” -“दाजु भाइलाई बोझ आमा बालाई पीर।” -“अनि तिम्रो नी?” -” मेरा दुई भाइ छोरा छन् रात दिन जुवा खेल्ने र रक्सी प्युने लोग्ने, कर्कसी सासु । अझ त्यतिले नपुगेर छोराहरु पनि बद्मास निस्किए दिदी।” -“पतिको नाउँ के हो नी?” -“धनेश्वर।” -“ससुराको?” -“पिताम्बर।” बाजे र पितासँग डराउदैनन्?” -“के डराउनु नी !! बाऊले रक्सी लिन पठाऊने चुरोट सल्काएर बाऊ छोरा संगै बसेर प्युने, अझ सासु ससुरा उनीहरुकै पक्ष लिन्छन्।” यो सुनेर अर्चना डाँको छोडेर रुन लागिन्। -“किन रुनु भएको दिदी ?” यदि तिम्रो ठाउँमा म भएकी भए के गर्थे होला भनेर सम्झिएकी नी बहिनी।”
मन मनै सोचिन् मैले भोग्नुपर्ने पीडा तिमिले भोगिरहेकी छौ आज ,आखीर बहिनी त्यो परिबेसमा यस्तै होला भनेर सन्तान नजन्माउने दबाई खाएकि थिएँ मैले।