झोलाको भाग्य !
डा. गोविन्दशरण उपाध्याय ।
ब्रह्माले धेरै देशहरू बनाए । नेपाललाई पहाड, हिमाल र तराई मिलाएर बनाए । ब्रह्माले विश्वभरिका सबै विशेषताहरू एकै ठाउँ (अलिअलि) मिलाएर नेपाल बनाए । बूढो भएपछि रिटायर्ड जीवन बिताउने ब्रह्माको मन थियो । नेपाल साच्चिकै सुन्दर थियो । सुन्दर/सुन्दरीमा धेरैका आँखा लाग्छन् । तर ब्रह्मासँग नेपाललाई कसैले माग्न सकेन । यत्तिकैमा ब्रह्माले स्वीट्जरल्याण्ड पनि बनाए । यो पनि नेपालसँग अलिअलि मिल्दो जुल्दो थियो । अनि, ब्रह्माले सबै देशहरूलाई भाग्यको पोको बाँड्न थाले । ब्रह्माले भाग्य बनाउँदा नै “समानुपातिक“ बनाएका थिए ।
अमेरिकालाई “केही“ मन परेको थिएन तर उसले भाग्य भने प्राप्त गरिसकेको थियो । उसले आफ्नो देशका भ्रष्टाचारीहरूलाई खुसुक्क एउटा भाग्यको झोलामा राखिदियो र आफ्नो बाटो लाग्यो । त्यो झोला नेपालको भागमा पर्यो । ब्रह्माले विचारनै नगरी झोला नेपाललाई दिए ।
सबैलाई भाग्य दिएर ब्रह्माजी मख्ख पर्दै नेपालतिर फर्के जहाँ उनी आफ्नो रिटायर्ड लाइफ विताउँन चाहन्थे । नेपाललाई नजिक बोलाए उसको भाग्यको झोला खोले । त्यसमा सबै असल कुराहरू थिए तर नेपालमा राजगर्नेहरू सधैं “भ्रष्टाचारी र जनताहरू सधैं भ्रष्टाचारी भएको जान्दाजान्दै पनि तिनैसंग “सति जाने हुने छन्“ साथै, असल मान्छेको सबैले प्रसंशा गर्ने छन् तर चुनाउगर्दा खराव चुन्ने मान्छेहरू नेपालीको भाग्यमा हुने छन्– लेखिएको रहेछ ।
ब्रह्माले टाउको समातेर जोरले खोके, मेरो निन्द्रा खुल्यो । अनि मैले सम्झें ६ वर्ष अगाडी मैले मिस्सिसिपी विविवीमा दर्शनशास्त्रका प्राध्यापकलाई सोधेको थिएँ “ट्रंप र हिलारी मध्ये तपाईंको रोजाई को हो ?
उहाँले भन्नुभयो “खरावहरू मध्ये छान्न पर्छ तर मैले ट्रंपलाई रोज्ने छु ।“ मैले सोचेको थिएँ : हिलारी नै वेस होलिन् । सबैले आफुलाई “वेस“ लाग्ने नै रोज्ने हो । यदि उभिएका मध्ये कुनै पनि वेस छैनन् भने पनि रोज्ने पर्ने बाध्यता हुन्छ ।
तर नेपालको बाध्यता होइन भाग्यको “सुपरिचित बहाना“ हो । राणाले देश लुटे । प्रजात्रन्त्रले काम गरेन । लोकतन्त्र नेपालीका लागि होइन नेता–व्यवस्थापनका लागि आएको छ । २९ वर्षमा मेलम्ची आउंदैन । मोटरसाइकलको लाइसेन्स पाउन दिएको पैसा बैंकमा थन्किन्छ, लाइसेन्स पाइँदैन । भागबण्डामा परेर विश्वविद्यालयहरू थलिएका छन् । दिनहुँ प्रशिक्षणका लागि भत्ता थाप्ने सरकारी शिक्षकहरूले आफ्नो बुई नेतालाई सुम्पिएका छन् । नेपालले प्राप्त गरेको प्रजातन्त्र÷लोकतन्त्रको झोलामा भ्रष्टाचारीहरूको भाग्य रहेछ ।
अमेरिकालाई रिझाउन प्रजातन्त्र, भारतलाई रिझाउन गणतन्त्र र अमेरिका, भारत र चीन तीनैलाई खुसी पार्न लोकतान्त्रिक गणतन्त्र, आफ्नै नेताहरूलाई खुसी पार्न मुख्यमन्त्रीका पदहरू र इसाई र मुस्लिमहरूलाई खुसी पार्न धर्मनिरपेक्षता, नेपाली जनतालाई खुसी पार्न “भ्रष्टाचार निवारण र प्रगतिशील नेपालको आश्वासन“–जेहोस्, नेताहरू प्रजातान्त्रिक नभए पनि जनताचाहिं प्रजातान्त्रिक हुनैपर्छ र छन् !
जनता बलिया भया देश बलियो हुन्छ भन्ने भनाई “नेता बलिया भया सवै राम्रो हुन्छ“मा रुपान्तरित हुँदैछ । हवाईजहाजहरू कवाडीमा बेचिन्छन् । जनता दुब्लाउँछन् सरकार (सरकारी) मोटा हुन्छन् । मन्त्रीहरूले निजी सचिव राखेर “मोलतोल“ गर्छन् । छोराछोरी अधिकृत बनेको एकवर्षमै बाउआमाले दशैँको टीका लगाउँदा “अर्कोवर्ष काठमाडौंमा घर होस्“ भनेर आशीर्वचन दिन्छन् । हाजिरी गरेको तलव र काम गरेको भत्ताको सिद्धान्तले काम गर्छ । ७२ वर्षको उमेर पुग्दा पनि “शिशुनै छु“ भनेर लोकतन्त्र । मैले बुझ्ने प्रयत्न गर्दैछु–नेपालीको भाग्यमा सधैं दुर्भाग्य नै किन पर्छ ?
म अहिले सिंगदेन, ओली, देउवाहरू खराव मध्येका रोजाई हुन् कि असल मध्येका बाध्यता हुन् अथवा दैवले नेपालको भाग्यमा लेखिएका दुर्भाग्यका अक्षर हुन् ? मैले बुझ्ने प्रयत्न गर्दैछु । जनताले त बुझेकै होलान् तर म बुझेर भन्छु, नेपाली जनतालाई लोकतन्त्र, प्रजात्रन्त्र, गणतन्त्र, राजतन्त्र सबै पुग्यो, अब मेलम्चीलाई ३० वर्षको पुर्याउनेहरूको विजय नहोस् ।