‘केपी गुट’ले नमान्दा संविधान संसोधन हुन सकेनः प्रचण्ड


 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् । उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताए । उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे । प्रचण्डले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए ।
उनले मधेशी जनताको, दलित, जनजातिहरुको हकहितको कुरालाई लिएर आफूले संविधान संसोधनको प्रश्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संसोधन हुन नसकेको बताए । उनले अहिले झन्डै ८ लाख सदस्य नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो संख्या १० लाख पुग्ने दाबी गरे ।