‘चोलेन्द्रसमशेरजी ! निवेदन छ, भिडेर बस्नोस्, देशको प्रधानन्यायाधीश बारम्बार पराजित हुनुहुन्न’
केशवप्रसाद भट्टराई ।
महाभियोगको सामना गरेर संसदमार्फत न्याय प्रणालीमाथिका सवैका अनैतिक कालाकर्तुत राष्ट्र समक्ष राखेर मुलुकमा स्वच्छ न्याय व्यवस्था निर्माणको ढोका खोल्ने ऐतिहासिक भूमिकाको लागि तयार रहनुहोस चोलेन्द्रजी !
१. दीपकराज जोशी र गोपाल पराजुलीमाथिको तपाइँको व्यवहार हेर्दा हुन त तपाइँलाई खुचिङ्ग भन्नु पर्ने हो तर भन्दिन !
तपाइँ पदको मर्यादा र गरिमा अनुरूप स्वच्छ र इमान्दार पनि नहुनुहोला,
सम्माननीय चोलेन्द्रसमशेरजी !
तर निवेदन छ, भिडेर बस्नोस्, देशको प्रधानन्यायाधीश बारम्बार पराजित हुनुहुन्न ।
देशको प्रधानन्यायाधीशले बारम्बार यो र त्यो किसिमले जोशी र पराजुलीको नियति बेहोरेर पराजित हुनुहुन्न ।
२. सम्पूर्ण प्रणालीमा सुधारको शर्तमा बाहेक अर्को त्यस्तै व्यक्तिलाई बाटो खोलिदिन,
कसैको प्रधानन्यायाधीश हुने पालो छिटो बनाइदिन मात्रै छोड्नु हुन्न चोलेन्द्रजी
आउँछ भने महाभियोग आओस !
संसदमा हुने बहसमा सवैको पोल खोलिदिनोस ।
स्पष्ट कुरा जस्ताको तस्तै राखिदिनोस ।
सबैका काला कर्तुत उदाङ्ग होउन ।
त्यसले न्याय क्षेत्रलाई भ्रष्ट बनाउने धेरैको मुटुमा अहिले देखिनै ढ्यांग्रो बज्न शुरू गरोस् ।
अनि मात्रै देशले न्यायपालिकामा सुधार ल्याउन सवल प्रयत्न गर्दछ । यो हुन्छ देशलाई र न्याय क्षेत्रलाई तपाइँको योगदान ।
३. मैले रोजेको न्यायाधीशले मेरो मुद्दा लड्नु पर्छ भन्ने वकिलहरू । आफ्ना समकक्षी न्यायाधीशहरु बसेको इजलासमा हामी बस्दैनौ भनेर अदालतमा सामूहिक राजनीतिक गूट बनाउने न्यायाधीशहरू । न्यायाधीशहरूलाई सडकमा आउन अपिलगर्ने पूर्वन्यायाधीशहरू । फैसला लेख्ने महान र सक्षम न्यायाधीश एउटा–एकदिन अघि मात्र फैसला पढेर हस्ताक्षर गर्ने चोलेन्द्र शम्शेरले मन्त्रालयमा भाग खोजे होलान कि लेख्ने र मिलाउनेहरुले–त्यसबारे सत्य तथ्य केलाउन नसक्ने अनि सडकको खपथकोलागि समाचार बनाउने समाचार व्यापारीहरू,
दलको कोटामा भागबण्डामा परेर सर्वोच्चमा पनि दलीय गठबन्धन खडा गरेर राजगर्न खोज्ने छाडा र अराजक न्यायाधीशहरूको दवावमा,
ती वकिल, न्यायाधीश र तिनलाई बोक्ने मिडियाहरुले चलाएको दुष्प्रचारको भरमा भाग्नुभयो भने तपाइँलाई दुनियाँले कायर र दोषी बुझ्दछ चोलेन्द्र जी !
तपाइँ गलत सावित हुनुहुन्छ । पुनः आग्रह छ, नभाग्नुस् ! शिखण्डीहरूसँग पराजय स्वीकार नगर्नुहोस् !
पर्छ भने महाभियोगको सामना गर्नोस् ! अहिले देखिनै लेख्न र लेखाउन थाल्नुहोस् आफ्नो वयान !
न्यायिक क्षेत्रमा भ्रष्टाचार छ तर त्यो भ्रष्टाचारमा राजनीतिक क्षेत्र झन् नाङ्गो छ , त्यसले न्याय क्षेत्रलाई भ्रष्ट बनाउने धेरैको मुटुमा अहिले देखिनै ढ्यांग्रो बज्न शुरू गरोस् ।
वकिलहरू विचौलिया छन् अनि गजेन्द्र हमाल जस्ता इमान्दार र त्यागी नेतालाई बलीको बोको बनाएर न्यायालयमाथि आक्रमण गर्ने कुत्सित षड्यन्त्रको एकएक कुरा बाहिर आउनुपर्दछ प्रधानन्यायाधीशज्यू ! आफ्ना विगतका गल्ती पनि स्वीकार गरेर अरूका गल्तीलाई नांगेझार पारेर राष्ट्रको सेवा गर्ने अमूल्य अवसर नगुमोस् ! साहस गर्नुहोस् ! न्याय गर्नुहोस् आफ्नो नाऊ पछाडिको जबरालाई ! नमस्कार !