काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सभामुखले सदनको कारबाही सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरू वेल घेराउ गर्न पुगेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले सदन नियमित अवरोध गरिरहँदा संसद्प्रति वितृष्णा बढ्न सक्ने भन्दै सचेत गराएका थिए । उनले बैठक सञ्चालनमा सहयोगको अपेक्षा पनि गरेका थिए । तर सभामुखको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरुले विरोध गरिरहे ।
उनीहरुले ‘कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन’, ‘यथास्थितिमा संसद् चल्न सक्दैन’ लगायतका नारा लगाएका छन् । अवरोधकै बीच सभामुखले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७६/७७ प्रस्तुत गर्न समय दिएका थिए ।
मन्त्री कार्कीले प्रतिवेदन पेश गरेका छन् । एमाले सांसदले विरोध गरिरहेपछि सभामुखले असोज २२ गतेसम्मका लागि स्थगित गरेका छन् । एमालेले भदौ २३ गतेदेखि सुरु भएको नवौं अधिवेशनदेखि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरिरहेको छ।

प्रतिक्रिया