एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु हुँदै


काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदैछ। ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको एमालेले जनाएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन् । विधान महाधिवेशन लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिने छ ।

तीन हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन् । जसमध्येका तीन हजार जना मूल हलमा बस्ने छन् । बाँकी तीन हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाइएको छ ।

सहभागीहरुलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमालेले जनाएको छ । महाधिवेशन सफल बनाउन भन्दै २ सय स्वयमसेवक खटाइने छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क, सेनिटाइजर लगायतको व्यवस्था गरिएको छ ।