काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँचवटा समूह बनाइ समूहगत छलफल गरिएको थियो । बुधवारको बैठकमा समूहका नेताले सुझावसहित प्रस्तुत गरेको र प्रतिवेदन महत्वपूर्ण सुझावहरुलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
समुह एकबाट रामकुमार झाँक्री, समूह दुईबाट रामचन्द्र शाह, तीन बाट रमा आले, चर बाट श्रीप्रसाद साह र पाँच बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।
बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष नेपालले जबजको सारभूत विचारलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने बताएको खतिवडाले जानकारी दिए ।
आफूहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएका थिए । बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरुमार्फत् पार्टीको चुनाव चिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि खतिवडाले जानकारी दिए ।
पार्टी केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे पनि बस्ने र सो बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने पनि उनले बताए ।

प्रतिक्रिया