काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले गत फागुन २८ केपी शर्मा ओलीले गरेको विशेष केन्द्रीय कमिटीको बैठकनै एमाले विभाजनको सुरुवात बिन्दु भएको बताएका हुन् ।
१२ पृष्ठको प्रस्तावमा एमाले अध्यक्ष ओलीको चर्को आलोचना गरिएको छ । प्रस्तावमा भनिएको छ,‘पार्टीमा स्थापित विधि र पद्धतिविपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक गरी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवशेनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउनेजस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनको दिशामा धकेलिदिए । वास्तवमा केपी ओली गुटको त्यही निर्णयबाट नेकपा (एमाले) को विभाजन सुरु भएको हो ।’
अध्यक्ष नेपालले राजनीतिक प्रस्तावमा पार्टी विभाजन नभएर विद्रोह गरेको दावी गरेका छन् । प्रस्तावमा केशरजंग रायमाझीसँग कम्युनिष्ट पार्टीकै संस्थापक पुष्पलालले विद्रोह गरेर आन्दोलन जोगाएको उल्लेख गरिएको छ ।
प्रस्तावमा उनले सर्वोच्चको फागुन ११ को फैसलापछि केपी ओलीले पुनः षडयन्त्रका अनेकौँ तानाबाना बुन्न थालेको बताएका हुन् । प्रस्तावमा भनिएको छ,‘ ‘२०७७ फागुन ११ गतेको उक्त फैसलाबाट रन्थनिएका केपी ओलीले पुनः षडयन्त्रका अनेकौँ तानाबाना बुन्न थाले । त्यसैबीच २०७७ फागुन २३ गते सर्वोच्च अदालतले वादीद्वारा माग नै नगरेको विषयमा प्रवेश गरी २०७५ जेठ ३ गते भएको पार्टी एकता खारेज गर्दै एकताबद्ध भएका दुवै पार्टीलाई पूर्ववत् अवस्थामा अर्थात् २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्काउने फैसला गर्यो ।’

प्रतिक्रिया