डडेल्धुराको वडा तहको निर्वाचन ७५ वर्षे नेपाली काँग्रेसको इतिहासमै नभएको घटनाः शेखर कोइराला


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो । वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकोले त्यसको समाधान न्योयोचित ढंगले हुनुपर्ने बताए ।

उनले भने, ‘पहिला पनि मैले सभापतिलाई त्यहाँ मिस भयो, मिटिङ्ग बोलाउँ, तुरुन्त निर्णय दिउँ भने, अहिले पनि त्यहाँ मिस भयो, भनेको छु, आठ वटा क्लष्टर छ, त्यसका मान्छेहरु कसकसको कहाँकहाँ कसको प्रतिनिधित्व हुनेभयो, कसको हुनेभएन कहाँनेर ल्याप्सेस छ, त्यो कुरा समीक्षा गरेर निर्णय गरेर पठाइदिनुपर्यो,अब यो दंगा फसाद गराउने कुरा छैन।’

महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः चुनाव नहुने बताए । उनले हजारौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डेमोक्रेसी विपरीत चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताए ।

उनले भने, ‘डडेल्धुरामा जुन काण्ड भयो, त्यसको बारेमा हामीले सोध्यौँ, त्यहाँ हजारौँ पुलिस अफिसर गए, त्यो डेमोक्रेसीको पक्षमा भएन, भन्ने कुरा राख्दा उहाँहरुले पनि मान्नुभयो, ठीक भएन भन्नुभयो, अब फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिन ।’

नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली काँग्रेसको इतिहासमै नभएको बताए । उनले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य विनै अधिवेशन गरिनु दुर्भाग्य रहेको भन्दै यसले प्रजातन्त्र अप्ठेरोमा पारेको बताए ।

पौडेल पक्ष क्रियाशील सदस्यको विवादसम्बन्धी समस्या समाधान नगरी देउवाले डडेल्धुरामा वडा अधिवेशन गराएको भन्दै आपत्ति जनाउँदै आएको छ ।