काठमाडौँ । संसदको गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुख सापकोटाले आज दिउँसो साढे २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमालेले उठाएका प्रश्नको जवाफ ननिस्किने भएकाले नजाने निर्णय भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । सभामुखको भूमिका बदनियतपूर्ण रहेकाले बैठकमा जानुको औचित्य नभएको भट्टराईले बताए ।
उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजिएको आरोप लगाए । एमालेबाट निर्वाचित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ । पार्टीले कारबाही गर्दा पनि पदमुक्तको सूचना जारी नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ । सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया