संसदमा एमालेको अवरोध कायमै, आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकार ख्याल गर्न सभामुखको आग्रह


काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

आइतबार पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा गएर नाराबाजी गरेका छन् । एमालेले लगातार रुपमा संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यसैबीच, सभामुख सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् ।

आइतबारको संसद बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि सभामुखले एमाले सांसदलाईसमस्याको समाधान वार्ता र संवादबाट खोज्न आह्वान गरेका हुन् ।

उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु।’ सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।