लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहको नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ एक सैनिक अस्पतालमा निधन भएको हो ।
जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका कानुनमन्त्री अनबल टोरेसले पुष्टि गरेका छन् ।
छाला क्यान्सरका बिरामी रहेका गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि बन्दी बनाएर राखिएको थियो । दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो।
अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए । कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पाथ नामक समूह बनाएका थिए।
उक्त समूहले पछि पेरूको सरकारविरूद्ध विद्रोह छेडेको थियो। बुर्जुवा प्रजातन्त्रलाई फालेर कम्युनिष्ट राज्य स्थापना गर्ने उनीहरूको लक्ष्य थियो । एक दशकभन्दा बढी चलेको साइनिङ पाथ र पेरूको सरकारबीचको युद्धमा झन्डै ७० हजार मानिस मारिएका थिए।

प्रतिक्रिया