नेपालको स्वाधिनता र सुरक्षामा आँच नपुर्याउने भएमात्र एमसीसी स्वीकार्यः माधव नेपाल


नेपालगंज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुर्सी र सत्ताका लागि आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताएका छन् ।

शनिबार नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उद्घाटन तथा पिपुल्स भोलन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई पनि आफूले परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएको उल्लेख गरेका हुन् ।

संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षड्यन्त्र गरिएपछि सो जोगाउन पाँच दलीय गठबन्धन बनेको भन्दै उनले आगामी निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताए ।

मुलुकमा पाँच दलको वामलोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपालगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुई गठबन्धन रहेको बताउँदै उनले दक्षिणपन्थीहरु हराएर जाने दावी गरे । केपी ओलीले विदेशीसँग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षड्यन्त्र गरेको आरोप लगाए ।

नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले एकीकृत समाजवादी गठन गरेको भन्दै नेपालले पार्टी गठनसँगै देशभरी नयाँ तरंग फैलिएको बताए ।