‘सबै मानिसलाई बूस्टर डोज आवश्यक पर्दैन’



कोरोनाभाइरसविरुद्धको खोप निर्माण गर्नेमध्येकी एकजना अक्सफर्डकी वैज्ञानिकले सबै मानिसलाई उक्त खोपको बूस्टर मात्रा अर्थात् अतिरिक्त मात्रा आवश्यक नपर्ने बताएकी छन् । बरु अक्सफर्ड–आस्ट्राजेनेकाको खोप आवश्यक परेका देशमा उक्त खोप पठाउन उनले आह्वान गरेकी छन् ।

प्रा. डेम सेरा गिल्बर्टले ब्रिटेनको डेली टेलिग्राफ पत्रिकासँग कुरा गर्दै रोग प्रतिरोध क्षमता कमजोर भएका केही व्यक्तिलाई मात्रै अक्सफर्डको कोभिड खोपको तेस्रो अर्थात् बूस्टर मात्रा आवश्यक पर्न सक्ने तर पूर्ण मात्रा खोप लगाएका धेरै मानिसहरूमा रोग प्रतिरोधी क्षमता लामो समयसम्म कायम रहने बताएकी हुन् ।

‘हामीले खोप त्यस्ता देशहरूमा पठाउन जरुरी छ जहाँ हालसम्म पनि थोरै मानिसहरूले मात्र खोप प्राप्त गर्न सकेका छन्,’ उनले भनिन् । पूर्ण मात्रामा कोभिड खोप लगाइसकेकाहरूलाई अझ थप तेस्रो मात्रा पनि आवश्यक पर्छ वा पर्दैन भन्ने विषयमा यूकेको खोपसम्बन्धी सल्लाहकार निकायले छिटै नै आफ्नो अन्तिम निर्णय प्रस्तुत गर्दैछ ।

खोपसम्बन्धी मामिलाको संयुक्त समिति जेसीभीआईले रोग प्रतिरोधी क्षमता एकदमै कमजोर भएका मानिसहरूलाई कोभिड खोपको तेस्रो मात्रा दिनु पर्ने प्रस्ताव गरिसकेको छ ।

वेलायतमा त्यस्ता मानिसहरूको सङ्ख्या पाँच लाखजति रहेको अनुमान छ । तर त्यस्तो थप मात्राको खोप अझ व्यापक रूपमा आवश्यक पर्छ वा पर्दैन, पर्ने भएमा को–को त्यसका लागि योग्य हुनेछन् भन्ने विषयमा केही पनि निर्णय भएको छैन । ब्रिटेनका स्वास्थ्यमन्त्री साजिद जाविदले बिहीबार बोल्दै आफूले जेसीभीआईको अन्तिम निर्णयको प्रतीक्षा गरिरहेको र बूस्टर खोप कार्यक्रम यसै महिनाको अन्त्यदेखि आरम्भ गर्न सकिनेमा आफू विश्वस्त भएको बताएका थिए ।

जेसीभीआईले गत जुलाईमा सुझाएको अन्तरिम सल्लाहबमोजिम यूकेमा तीन करोड मानिसहरूले कोभिड खोपको तेस्रो मात्रा लिनुपर्ने र तिनमा ५० वर्षभन्दा बढी उमेर समूहका सबै वयस्क पर्ने बताइएको थियो।

सन् २०२० को आरम्भदेखि नै कोरोनाभाइरसविरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप निर्माण गर्न सुरु गरेकी खोपविज्ञ डेम सेरा भन्छिन्ः बूस्टर मात्रा आवश्यक पर्छ कि पर्दैन भन्ने बारेको निर्णय एकदमै सावधानीपूर्वक गर्न आवश्यक छ।

टेलिग्राफसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘हामीले प्रत्येक अवस्थालाई ध्यान दिएर हेर्नेछौँ। जस्को रोग प्रतिरोधी क्षमता निकै कमजोर छ र उमेर पनि बढी छ उसले बूस्टर मात्रा पाउँछ।’

‘तर सबै जनालाई बूस्टर वा थप मात्रा आवश्यक पर्छ जस्तो म ठान्दिनँ। बहुसङ्ख्यक मानिसहरूमा रोग प्रतिरोध क्षमता लामो समयसम्म टिकिरहेको छ।’ अक्सफर्ड भ्याक्सीन समूहका निर्देशक प्राध्यापक एन्ड्रू पोलर्डले बीबीसीको रेडिओ फोरको टुडे कार्यक्रमसँग कुरा गर्दै यूकेमा मानिसहरूलाई कोरोनाभाइरसबाट उच्च तहको सुरक्षा प्राप्त भएको बताएका छन् ।

खोप लिइसकेका मानिसमा उक्त भाइरसप्रतिको प्रतिक्रियाको स्तर घटेको जस्तो देखिएपनि उक्त सुरक्षाको अवस्था कायम रहेको उनको भनाइ थियो । वेलायतमा १६ वर्षमाथिको उमेरका जनसङ्ख्याको ८८.८ प्रतिशत अर्थात् चार करोड ८३ जनाभन्दा बढीले कोभिड खोपको पहिलो मात्रा लगाइसकेका छन् भने चार करोड ३७ लाखले दुवै मात्रा लगाएका छन् ।
बीबीसीबाट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको