काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली नागरिक मारिँदा पनि सरकार चुइक्क बोल्न नसकेको बताएका हुन् ।
उनले नेपाली नागरिक मारिँदा आफू बोल्न नसक्ने र युवा बोल्दा दमन गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘भारत थाहा छैन भन्छ, नेपाल सरकारले थाहा दिन सक्दैन ? नागरिक मारिदा चुइक्क बोल्न सक्दैन । अनि यहाँ सडकमा लाठी लगाउन खोज्छ युवालाई । यस्तालाई भन्छन् घरका बाघ, बनका स्याल ।’
अध्यक्ष ओलीले जयसिंह धामी प्रकरण र त्यस क्षेत्रमा भारतीय हेलिकोप्टर उडेको प्रसंग निकाल्दै सरकार जनता र देशप्रति जिम्मेवार नबनेको बताए । उनले भने,‘सरकारको यो भन्दा नालायकी के हुन्छ ? एउटा पार्टीको सरकार भए त बोल्न सकेन भनेर चित्त बुझाउन सकिन्थ्यो । पाँच पाँच वटा पार्टी हुँदा पनि बोल्न सक्दैनन् ।’
ओलीले नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोजेपनि जनता एमालेप्रति आकर्षित भइरहेको पनि बताए । उनले एमाले सरकारमा हुनु र नहुनुमा जनतालाई केही फरक नभएको भन्दै ‘फरक देशलाई पर्ने’ बताए ।
उनले देउवा नेतृत्वको सरकारले एमालेलाई गाली गरेर जिविकोपार्जन गरिरहेको पनि आरोप लगाए। उनले रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै हिजो बोल्न पाइन्न भनेहरु कता गए भन्दै प्रश्न गरे ।
उनले भने, ‘मास्क फुत्त फालेर, आफैले टाँसेको टेप, फिल्मी स्टाइलमा बोल्न पाइन्छ भन्थे–म अहिले तिनीहरुलाई सोध्न चाहान्छु, देश र राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइदैन ?’ अश्लिल छाडा बोलेको छ, तमासा गरेको छ । अनि अहिले किन भन्न सक्दैनन् अपराधका हिस्सेदारहरुले गरेको अपराध ?’

प्रतिक्रिया