तुईन प्रकरणमा छानबिन गर्दा समस्या नहुने, अनि हुम्लामा के छ भनेर हेर्दा, के को आपत्ति ?


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अघि बढ्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित साक्षात्कारमा महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाई छ । नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे ।

उनले भने,‘यो विषय कयौँ सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौँ । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदारपनि आउँछन् । यो चाहिँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडी बढ्छ । सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइदैन भन्ने नै उल्लेख छ ।’

महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताए । उनले भने,‘हिजोको सरकार कसैको लहैलहैमा लागे होलान्, तर हामी लाग्दैनोैं । हामी नेपालको चाहे सीमाको कुरा आउँछ, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वार्थ र आवश्यकत्ताको कुरा आउँछ, चाहे चीन होस वा भारत होस, लिम्पियाधुराको सवालमा पनि हामीले एक स्वरमा भन्यौं । हुम्लाको विषयमा प्रश्न उठेको छ । तुईन प्रकरणमा छानबिन गर्दा समस्या नहुने, अनि हुम्लामा के छ भनेर हेर्दा, के को आपत्ति ? समस्या रहेनछ भने ठिकै हो नि । अतिक्रमण देखियो भने संयुक्त रुपमा हल गर्नुपर्छ । अध्ययन गर्दैमा र छानबिन गर्दैमा सम्बन्ध बिग्रिँदैन् । छानबिन पनि हुन्छ । आफ्नो पक्षबाट कमजोरी देखियो भने त्यो कुरा पनि उठाउनुपर्छ ।’

सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताइ । नेपाली कांग्रेसभित्र भने मन्त्रीको विषयमा समस्या नरहेको र मन्त्रीको नाम तय भइसकेको उनले बताए ।