काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारमा रहेका नेताहरूबीचको सहमतिलाई फण्डाको संज्ञा दिएका छन् ।
सोमबार साँझ चन्द्रागिरीमा आफ्ना सांसद र केन्द्रीय कमिटीका सदस्यहरूसँगको छलफलमा नेता नेपालले आफूहरूको पार्टी दर्ता हुन नदिनका लागि षड्यन्त्र गरेको टिप्पणी गरेका हुन् । एक नेताका अनुसार नेपालले यो पार्टी दर्ता भाँड्न बाहेक अरु केही नभएको बताए ।
उनले भने, ‘ हाममी पार्टी दर्ताको मुखमा पुग्यौँ । यो उनीहरुको भुलभुलैया मात्रै हो । उहाँले इमान्दारितापूर्वक एकता चाहेको हो भने पार्टी दर्ता भएपछि पनि खुला रूपमा सम्वाद गर्न सक्छौँ ।’
उनले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको उनले बताए । नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएको भन्दै त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए ।
यसैबीच रिसोर्टमा भेला भएका नेताहरुलाई पार्टीको विधान, राजनीतिक प्रस्ताव पनि केन्द्रीय सदस्य तथा सांसदहरूलाई वितरण गरिएको छ । त्यसमा केन्द्रित रहेर भोलि दिनभर छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
रिसोर्टमा ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु बास बस्नेगरी चन्द्रागिरी पुगेका बताइएको छ । नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएका बेला पार्टीका नेताहरुसँग छलफलका लागि चन्द्रागिरी लगिएको हो ।
तर, पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखेको जानकारी दिइन् ।

प्रतिक्रिया