मध्यरातमा ओलीको पाँच बुँदे वक्तव्यः पार्टी विभाजनको प्रयासविरुद्ध लाग्न अपील


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् ।

सोमबार राति वक्तव्य जारी गरी अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको बताएका छन् । ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएको दाबी गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने षड्यन्त्र गरिँदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।’

उनले पार्टी विभाजनको प्रयास असफल पार्न पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई अपीलसमेत गरेका छन् ।