काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत प्रधानमन्त्रीले सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका हुन् । प्रधानमन्त्रीले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन दिइसकेको बताएका छन् ।
यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्नका लागि एक समिति गठन गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको हो ।
गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको छ ।
अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेका अनुमान गरिएको छ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सूचना जारी गरेको छ ।

प्रतिक्रिया