अफगानिस्तानको काबुल छिर्‍यो तालिबान समूह


अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन् । समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेका हुन् ।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कुन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उदृत गर्दै रोएटर्सले जनाएको छ । उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन् । आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए ।

काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले ठूला प्रतिरोधको सामना गरिरहनुपरेको छैन । तर अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ । राष्ट्रपतिको कार्यालयले पास्तो भाषामा ट्विटरमा लेखेको छ, ‘काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।’

तर एक अफगान सांसद फर्जाना कोचाईले बीबीसीलाई मानिसहरू राजधानीबाट भाग्न कति आतुर छन् भनेर बताएकी छन् । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्यो । तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्यो ।

त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो । यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो । अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य ग।्यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो ।

त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्न खोजेको थियो। आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू फेरि कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरे । तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो ।

तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो । अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो ।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा बारे धेरैले थाहा पाए । साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ । पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो ।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो । चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो । तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो । टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन । दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भएर तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो ।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो । राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो । सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो ।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो । तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो।

डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो । तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए । दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो ।