काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन्। आफू पक्षीय बागमती प्रदेश सम्पर्क संगठन कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता नेपालले एमाले एकता र विभाजनको दोबाटोमा उभिएको बताएका हुन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न चाहेको आरोपसमेत लगाएका छन्। उनले भने, ‘एमाले एकता र विभाजनको दोबाटोमा उभिएको छ । हामी एकता चाहिरहेका छौं। पार्टीको अध्यक्षको हैसियतले अहिलेसम्म केपी ओली विभाजन चाहिरहनुभएको छ।’
नेपालले पार्टीको विधिमा बाँध्न खोज्दा ओलीलाई विधि–पद्धति मन नपरेको बताए । नेता नेपालले जनताको बहुदलीय जनवाद (जबज) ले कार्यकर्ताको कुरा सुन्न, कमजोरी स्वीकार्न, जनताका आवाज सुन्न सिकाएको पनि बताए ।
उनले भने, ‘सरकारको कामलाई राम्ररी गर्नुहोस् भनेर सुझाव दिइयो। उहाँलाई सुझाव मन परेन, विधि पद्धति मन परेन।’ नेपालले संविधान र कानुनको सबैले सम्मान र विधिको पालना गर्नुपर्नेमा जोड दिए । पार्टी अध्यक्ष ओलीलाई पटक पटक सुधार्न खोज्दा पनि सुधार नआएको र सुधारको गुन्जायस नदेखिएको पनि बताए । उनले ओलीको अत्याचार सहन नसकिने अवस्था रहेको पनि बताए।

प्रतिक्रिया