नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका आउने


काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने भएको छ । बिहीबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्नेगरी प्रस्ताव पेश गरेका र केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बिहीबारको बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गर्नुभएको र निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिदा निर्देशिका पारित गरिने प्रवक्ता शर्माले बताए ।

बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिकोतर्फबाट विवरण राखेको तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय राखेको पनि उनले जानकारी दिए । कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने उनले बताए ।