महाधिवेशन गर्न नसक्नु वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्नु देशकै विडम्बना भएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत पौडेलले यस्तो बताएका हुन् ।

उनले पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’