उनी
उनी
सहनशील छिन् उनी
सहनशील छिन् धर्ती माताजस्तै
सहिदिन्छिन् धर्तीका बोझहरुलाई पनि …
रक्सीले मात्तिएर घरमा आई
आमा पिटेको देख्ने बच्चा सोच्दछन् –
दन्त्य कथाका दैत्य यस्तै हुन्छन् होला
नशा शान्त भएपछि गर्ने माया देख्दा
अलमलमा पर्दछन्, अनि सोच्दछन् –
बाबुले पनि माया गर्दछन् र ?
बाबुले त आमा कुट्छन्
सन्तानलाई तर्साउँछन्
छिमेकीसँग बाझाबाझ गर्दछन्
आफूलाई सर्बश्रेष्ठ व्यक्ति घोषणा गर्दछन्
बोली लरबराउँदै, खुट्टा लड्खडाउँदै
रक्सीले ढुलमुल भई नालीमा लड्दछन् …
जँड्याहा बाबुको परिभाषामा
अल्मलिन्छन् निर्दोष बच्चाहरु
अनि, सन्तानले निकालेको निष्कर्षमा
चुपचाप सुस्केरा हाल्दछिन् उनी …
बच्चाहरु निष्पट्ट रातमा
आकाशतर्फ फर्केर
भगवानसँग चुपचाप प्रार्थना गर्दछन् –
बरु कहिल्यै घरमा नआइदिए हुने नि !
बच्चाहरुको कामनामा
नजानिँदो स्वीकृति जनाउँछिन् उनी …
जँड्याहा बाबुबाट पाउने संस्कारमा
सन्तानले आफ्नो पहिचान खोज्नुपर्ने
कहालीलाग्दो भविष्य सम्झी
बार्दलीबाट आकाशका तारा हेर्दैै
निराश बनी टोलाउँछिन् उनी …
शरीरमा झम्टिई
यौवनको प्यास शान्त पारेपछि पुरुष बोल्दछ –
‘म तिमीलाई माया गर्दछु’
चिथोरिएको शरीर नियाल्दै सोच्दछिन् –
के यो माया हो त ?
यो कस्तो नियति सामाजिक सम्बन्धको ?
दुर्गन्ध सहेरै पनि सम्बन्ध राख्नुपर्ने ?
आकाशमा फर्की भाग्य सरापी
सुस्केरा हाल्दै रुन्छिन् उनी …
मार्गका चट्टानमा ठोक्किँदै उठ्दै
आफ्नो भविष्यको बाटो कोर्दै
सिरानी भिजेका अनिँदा रातहरु
शान्त भएर निदाउने आशामा
चुँडिएका आफ्ना सपनाहरु
फेरि एकपटक सजाउने ईच्छामा
पुलकित हुन्छिन् उनी …
अनन्तमा बिलिन हुनुअघि
स्वच्छन्द जीवन जिउने अभिलाषामा
बाटोभरी आँखा ओछ्याउँदै
युगौँदेखि सञ्चित शक्तिको आडमा
स्वतन्त्र उड्न पँखेटा फट्फटाएर
क्षितिजतर्फ नियाल्छिन् उनी …
डा. प्रदीप ढकाल ।