एमालेका २२ सांसदको स्पष्टीकरणः देउवालाई विश्वासको मत संविधान र अदालतको फैसलाअनुसार


काठमाडौं । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसति २२ सांसदले स्पष्टीकरणको जवाफ दिँदै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने आफूहरुको कार्य सर्वोच्च अदालतको फैसला तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल रहेको स्पष्टीकरण दिएका छन् ।

स्पष्टीकरणमा संसदबाट विश्वासको मत नपाएको अवस्था र प्रतिनिधिसभा पुनःस्स्थापना भएपछि पनि ओलीले एमाले संसदीय दलको नेताबाट राजीनामा नदिएकाले विद्रोह गर्नुपरेको बताएका छन् । उनीहरुले ओलीले संसदमा असफल भइसक्दा पनि पटक पटक आफैं प्रधानमन्त्री बन्न खोजेपछि कांग्रेस सभापति देउवालाई सघाउनुपरेको तर्क गरेका छन्।

जवाफमा सांसदहरूले ओलीले राजीनामा नदिएर पार्टी र दलको निर्णयबिना नै संविधान पनि मिचेर आफैँ प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन्। ओलीले नै पार्टीको विधान र संसदीय अभ्यासविपरीत अनैतिक कार्य गरेपछि त्यसलाई सच्याउन आफूहरु विपक्षीको पक्षमा उभिनु परेको तर्क गरेका छन्।

देउवालाई एमालेका सांसदहरु माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले विश्वासको मत दिएका थिए ।