काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधिसभामा भएको मत विभाजनमा देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । देउवाका पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत परेको थियो ।
मत विभाजनका क्रममा प्रतिनिधिसभामा २४९ सांसद उपस्थित भएका थिए । त्यस्तै एक जना सांसद तटस्थ बसेका थिए । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै यो संसदले पूरा अवधि काम गर्न पाउने भएको छ ।
नेकपा एमालेका २२ सांसदले दिए देउवालाई मत
नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आइतबार प्रनितिधिसभामा भएको मतदानमा एमालेका अध्यक्ष केपी ओली पक्षका ८ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ जना सांसदले विश्वासको मतको पक्षमा मत दिएका हुन् ।
देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हिरा केसी, कृष्ण श्रेष्ठ (किसान), गोपाल बम, प्रेम आले, धनबहादुर बूढा, बिना बूढाथोकी, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, निरा जैरी, रामकुमारी झाँक्री, कलिला खातुन, समिना हुसेन र कृष्णलाल महर्जन छन् । नेपाल पक्षका १० सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्।

प्रतिक्रिया