माओवादी केन्द्र पनि प्रदेश दुईमा, एकमन्त्री र एक राज्यमन्त्री नियुक्त


जनकपुरधाम । प्रदेश दुईका प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारका नवनियुक्त मन्त्रीलाई शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गरेका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ ग्रहण गराएका हुन् ।

त्यसैगरि नवनियुक्त आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले शपथ गराएका हुन् ।

जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाबाट मन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले शुक्रबार राजीनामा दिएका थिए । शपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।