ओली निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा बद्नाम भइसकेकाले अब उनको केही चल्दैनः प्रचण्ड


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनाको कुनै विकल्प नभएको बताएका छन् ।

मंगलबार जनकपुरमा पार्टीका नेता महादेव यादवलाई श्रद्धाञ्जली दिन पुगेका अध्यक्ष प्रचण्डले संचारकर्मीसँग कुरा गर्दै संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य र मान्यताअनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको बताएका हुन् ।

१४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दिएको रिट प्रतिवेदनका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘अहिले त सरकारले बढी संविधान मिच्ने, लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिने काम गरेको छ । त्यसैले यस्तो अवस्थामा संसद पुनःस्थापना मात्रै होइन कि मलाई विश्वास छ १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपति कहाँ बुझाएको आधारपत्र र १ सय ४६ को हस्ताक्षरसहित सर्वोच्च रिट प्रतिवेदनका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ ।’

प्रधानमन्त्री ओली नेपाली जनताको नजरमा एउटा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा बद्नाम भइसकेकाले अब उनको दबाबले केही पनि हुन नसक्ने प्रचण्डले बताए ।