काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि बिचार गरिनुपर्ने बताएकी छन् ।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले आइतबार रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको अन्तरक्रियामा झाँक्रीले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको भन्दै राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने बताएकी हुन् ।
वर्तमान राष्ट्रपतिले गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्न नसकेको उनले टिप्पणी गरिन् । उनले भनिन्, ‘ हामीले जुन व्यक्तिलाई प्रस्ताव गर्दै हुनुुहुन्छ, यी व्यक्तिलाई राष्ट्रपति बनाउनु हुँदैन । जसले गणतन्त्रको, लोकतन्त्रको गरिमा र मर्यादालाई राख्नै सक्दैन, कायम गर्नै सक्दैन भनेर त्यही बेला आन्तरिक हिसाबले भनेका थियौँ । एउटै दलभित्र फरक–फरक विचार समुहहरु छन् भनेपनि त्यहाँ चेक एण्ड व्यालेन्सको सिद्धान्त हुनुपर्छ भनेर हामीले त्यहीँभित्र कुरा उठाएका थियौँ । आज राष्ट्रपति र प्रधानमन्त्री मिल्दै गर्दा संविधान च्यातचुत, भाँचकुच भएन ? लाखौँका, हजारौँका सपनाहरु माथि तुषारापात भएनन् ?’
उनले राजनीतिक दलहरुले विगतका सहमति र सम्झौताहरु पालना नगर्ने गरेका भन्दै नेतृत्वमा इमान्दारिता थिएन भन्नेकुराको साझा निष्कर्ष निकाल्नुपर्ने बताइन् ।

प्रतिक्रिया